६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वीरगञ्जमा सार्वजनिक शौचालयको अभाव, खुला शौचको प्रवृत्ति बढ्दै

सार्वजनिक शौचालयको संख्या न्यून र शुल्क महँगो भएपछि सर्वसाधारण खुला स्थानमै पिसाब तथा दिसा गर्न बाध्य भएका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९६
  • वीरगञ्ज, असार २५ — वीरगञ्ज महानगरपालिकामा सार्वजनिक शौचालयको संख्या न्यून र शुल्क महँगो भएपछि सर्वसाधारण खुला स्थानमै पिसाब तथा दिसा गर्न बाध्य भएका छन्। यात्रु, सडक व्यापारी र पैदल यात्रुहरूलाई यसले ठूलो असहजता सिर्जना गरेको छ।

    महानगर क्षेत्रभित्र हाल करिब आधा दर्जन मात्र सार्वजनिक शौचालयहरू सञ्चालनमा छन्। ती पनि अधिकांश स्थानमा शुल्क लिईंने गरिएकाले सर्वसाधारण प्रयोग गर्न हिच्किचाउने गरेको देखिएको छ। उदाहरणका लागि, घण्टाघर चोकस्थित सार्वजनिक शौचालयमा पिसाब फेर्न १० रुपैयाँ, दिसा गर्न १५ रुपैयाँ र नुहाउन ४० रुपैयाँ शुल्क तिर्नुपर्छ। धेरैजसो व्यक्तिहरूले आर्थिक अभाव देखाउँदै शौचालय प्रयोग नगर्ने र खुला स्थानमा शौच गर्ने गरेको बताइएको छ।

    बीपी उद्यानस्थित खुला हाट क्षेत्रमा व्यापार गर्ने तथा किनमेल गर्न आउने ग्राहकहरू पनि खुला शौच गर्न बाध्य छन्। नेपाल टेलिकमको महसुल काउन्टर आसपास र मिनाबजार क्षेत्रमा पनि यस्ता दृश्य सामान्य रूपमा देखिन्छन्।

    प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहका अनुसार, सार्वजनिक शौचालयको अभाव र शुल्कको मारले वीरगञ्जमा खुला शौचको समस्या जटिल बन्दै गएको छ। ‘जहाँ पायो त्यहीँ थुक्ने र पिसाब फेर्ने बानीले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै लगिएको छ’, अध्यक्ष सिंहले बताए।

    वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह निर्वाचित भएपछि प्रतिष्ठानले सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालयको आवश्यकता औँल्याउँदै ध्यानाकर्षण गराएको थियो। तर अहिलेसम्म ती सुझावहरूमा ठोस पहल भएको छैन।

    ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जलाई ‘खुला दिशामुक्त’ घोषणा गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे। ‘सार्वजनिक शौचालयको अभावमा अझै पनि खुला स्थानमै दिसा-पिसाब गरिरहेको देखिन्छ,’ उनले भने, ‘यो समस्याको समाधानका लागि यथाशीघ्र सुलभ शौचालयहरूको निर्माण हुनु जरुरी छ।’

    महानगर सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार, घण्टाघर, पुरानो र नयाँ बसपार्क, लक्ष्मणवा चोकलगायत स्थानहरूमा शौचालय छन् भने पावरहाउस चोकमा नयाँ शौचालय निर्माणको काम भइरहेको छ।

    तर, स्थानीयवासी र सामाजिक संस्थाहरूको माग छ—महानगरले सुलभ र घुम्ती शौचालयको व्यवस्था, नियमित सरसफाइ र सचेतना अभियानमार्फत खुला शौच अन्त्यको दिगो समाधान ल्याओस्।