१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराजालाई ‘श्री ५’ सम्बोधन गरेपछि सचिव पाठक प्रहरीमा

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले सोधपुछका लागि बोलाएको छ। उनले



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६९
  • काठमाडौं, असार २७ - पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले सोधपुछका लागि बोलाएको छ।

    उनले सार्वजनिक रूपमा जारी गरेका प्रेस विज्ञप्तिहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्दावली प्रयोग गर्दै आएको विषयमा प्रहरीको चासो देखिएको हो।

    प्रहरीका अनुसार, संविधानले ‘श्री ५ महाराजधिराज’ भन्ने पद र सम्बोधनलाई नचिनेकोले यस्तो सार्वजनिक प्रयोग संविधानविपरीत ठहरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज अधिकारीले भने, "संविधानमा उल्लेख नभएका शब्द र पद प्रयोग गर्दै प्रचारप्रसार गर्न पाइँदैन।"

    पाठकलाई सोधपुछका लागि बोलाइएको र उनीसँग सचिवालयको औपचारिकता तथा अधिकारबारे पनि छलफल भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    यसअघि असार १३ गते सार्वजनिक गरिएको विज्ञप्तिमा पाठकले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७९औं शुभजन्मोत्सव’ मनाउने जानकारी दिएका थिए। यसै प्रकारका विज्ञप्तिहरूमा पटकपटक सो सम्बोधन दोहोर्‍याइँदै आएको थियो।

    यस घटनाप्रति प्रतिक्रिया जनाउँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको कदमप्रति आलोचना गरेका छन्। ‘पूर्वराजालाई श्री ५ लेखेको भनेर प्रहरीले सोधपुछ गर्नु हास्यास्पद छ’, उनले भने, ‘यो संकीर्ण सोचको उदाहरण हो। ज्ञानेन्द्र शाह अझै पनि नेपालका अन्तिम राजा हुन्, उनलाई सो सम्बोधन गर्नु अस्वाभाविक होइन।’

    घटनाले पूर्वराजाका समर्थक र राजतन्त्र पक्षधरबीच थप बहस निम्त्याएको छ। प्रहरीको यो कदम विधिसम्मत हो वा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप—यसले राजनीतिक बहसलाई पुनः चर्काएको छ।