१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लिङ्देनको चेतावनी : 'आवश्यक परे सडक आन्दोलनमा उत्रिन्छौं'

लिङ्देनले सरकारले नागरिकका चासोका विषयमा गम्भीर नभए सडक आन्दोलनको बाटो समाउने चेतावनी दिएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५८
  • काठमाडौं, असार ३० - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले नागरिकका चासोका विषयमा गम्भीर नभए सडक आन्दोलनको बाटो समाउने चेतावनी दिएका छन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा संसदभित्र विरोध जारी रहेको बताउँदै यदि संसद्ले समाधान दिन नसके, र सरकार गम्भीर नभए सडकबाटै जनदबाब सिर्जना गर्ने बताएका हुन्।

    "संसद्मा हाम्रो आवाज उठिरहेकै छ," लिङ्देनले भने, "तर आवश्यक परे हामी सडकबाट पनि आन्दोलन गर्न पछि हट्दैनौं।"

    साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठन गरिएको सुशासन आयोगको अस्तित्वबारे प्रश्न उठाउँदै सो आयोग हाल कुन अवस्थामा छ भन्ने चासो व्यक्त गरे। "त्यो आयोग कहाँ गयो ? त्यसको प्रतिवेदन कहाँ छ ?" भन्दै उनले वर्तमान सरकार र अघिल्लो ओली नेतृत्वको सरकारले सुशासनका नाममा देखाएको रवैयामाथि प्रश्न उठाए।

    लिङ्देनले थप आरोप लगाउँदै भने, "ओली सरकारका मन्त्रीहरू एकपछि अर्को घोटालामा मुछिए, तर कसैलाई कारबाही गरिएको छैन। के यस्तोमा सुशासन सम्भव छ?"

    उनको भनाइमा संसद् केवल विरोध गर्ने थलो होइन, समाधान खोज्ने मञ्च हुनुपर्नेमा जोड दिँदै, सरकारले जनताका गम्भीर सवालमा चासो नदिए आन्दोलन अपरिहार्य हुने स्पष्ट पारे।