१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिवि क्रिकेट मैदान निर्माण ढिलाइ : ठेकेदार कम्पनीलाई दुई लाख भन्दा बढी दैनिक हर्जना

ढिलाइका कारण जेभी कम्पनीहरूलाई दैनिक ०.०५ प्रतिशतका दरले हर्जना लाग्नेछ, जसको रकम करिब दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३५
  • काठमाडौं, असार ३२ - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति तथा फ्लडलाइट जडानको काम तोकिएको म्यादभित्र सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई सरकारले दैनिक हर्जना तिर्ने व्यवस्था गरेको छ।

    शहरी विकास मन्त्रालयका अनुसार, निर्माण ढिलाइका कारण जेभी कम्पनीहरूलाई दैनिक ०.०५ प्रतिशतका दरले हर्जना लाग्नेछ, जसको रकम करिब दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

    प्यारापिट निर्माणको जिम्मा पाएको बीकेओआई–केसीडीसी–बीजी जेभी र फ्लडलाइट जडानको काम लिएको विशन–ईश्वरी जेभीले फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए। प्यारापिटका लागि ४९ करोड २५ लाख र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख रुपैयाँको सम्झौता भएको हो।

    कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार असार ३० गतेदेखि नै हर्जना लागु भइसकेको छ। “निर्माण कम्पनीलाई हर्जनाबारे जानकारी दिइसकिएको छ। अहिले उनीहरू दैनिक हर्जना तिरेर काम गरिरहेका छन्,” उनले जानकारी दिए।

    कानुनअनुसार अधिकतम २ सय दिनसम्म हर्जना तिर्दै काम गर्न पाइने व्यवस्था छ, जुन आयोजनाको कूल लागतको १० प्रतिशत बराबर हो। सो अवधि पार गरेमा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ।

    यद्यपि निर्माण कम्पनीले एक महिनाभित्र सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। हालसम्म ४ हजार कुर्सी जडान भइसकेको र ६ मध्ये ३ वटा फ्लडलाइट पोलहरू समेत मैदानमा आइपुगेका छन्।

    हाल प्यारापिट निर्माणको भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ भने फ्लडलाइटतर्फ ४५ प्रतिशत भौतिक र २९ प्रतिशत वित्तीय प्रगति भएको छ।