काठमाडौं, साउन १ - सरकारले आजदेखि सुनचाँदीको सबै प्रकारका कारोबारमा २ प्रतिशत विलासिता कर लागू गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याइएको यो व्यवस्था आजदेखि कार्यान्वयनमा आएको हो।
नयाँ प्रावधानअनुसार अब बैंकबाट सुनचाँदी खरिद गर्दा, व्यवसायीले उपभोक्तालाई बेच्दा वा उपभोक्ताले पुनः व्यवसायीलाई बिक्री गर्दा हरेक चरणमा यो कर लाग्नेछ।
अघिल्लो वर्षसम्म १० लाख रुपैयाँभन्दा बढीको खरिदमा मात्र यो कर लाग्थ्यो। तर अब जुनसुकै परिमाणको कारोबारमा पनि कर तिर्नुपर्नेछ।
सुनचाँदी व्यवसायीहरूले यो निर्णयको विरोध गर्दै कर खारेजीको माग गर्दै आएका थिए। आन्दोलनपछि सरकारसँग छलफल भए पनि कर हटाउने निर्णय भने गरिएको छैन।
हाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको छ। नयाँ कर लागू भएपछि उपभोक्ताले यसमा करिब ३८३६ रुपैयाँ अतिरिक्त तिर्नुपर्नेछ।
विलासिता करको कारण सुनचाँदीको मूल्य झनै महँगो हुने देखिएको छ भने उपभोक्ता र व्यवसायी दुवै यसबाट असन्तुष्ट देखिएका छन्।
सरकारले भने आय बढाउन र आयात नियन्त्रण गर्न यस्तो कदम चालेको बताएको छ।
प्रतिक्रिया दिनुहोस