६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुरको लालझाडीमा वडा कार्यालयमै चोरी : सेवा प्रवाह प्रभावित

बुधबार राति भएको उक्त घटनामा चोर समूहले कार्यालयको पछाडिको ढोका फोडी प्रवेश गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिएका छन्।



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ७५
  • कञ्चनपुर, साउन ८ – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा अज्ञात समूहले चोरी गरी कार्यालयको महत्वपूर्ण सामग्री लिएर फरार भएका छन्। चोरीका कारण वडा कार्यालयको नियमित सेवा प्रभावित भएको छ।

    बुधबार राति भएको उक्त घटनामा चोर समूहले कार्यालयको पछाडिको ढोका फोडी प्रवेश गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिएका छन्। उनका अनुसार चोरहरूले वडा सचिवको कार्यकक्षको ढोका समेत तोडी कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पङ्खा चोरी गरेका हुन्।

    वडाको कार्यालय हाल भाडामा सञ्चालन हुँदै आएको थियो। केही महिनामै नयाँ भवनमा स्थानान्तरण गर्ने तयारी गरिएकाले सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्यचौकीमा रहेका क्यामेरामा पनि संलग्न व्यक्तिको फुटेज कैद नभएको वडा अध्यक्ष थापाले बताए।

    सबैभन्दा गम्भीर असर वडा सचिवले दैनिक कामकाजका लागि प्रयोग गर्दै आएको कम्प्युटर चोरी भएपछि परेको छ। सेवासम्बन्धी अभिलेखसमेत त्यसै कम्प्युटरमा रहेको हुँदा बिहीबारदेखि वडाको सेवा प्रवाह ठप्पजस्तै भएको छ।

    घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

    यस घटनाले स्थानीय तहमा पर्याप्त सुरक्षा प्रबन्धको आवश्यकतालाई फेरि एकपटक उजागर गराएको छ।