६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुरमा झुन्डिएको अवस्थामा फेला परेका दिदीबहिनी मुम्बईबाट हालै मात्र आएका थिए



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १८४
  • भक्तपुर, साउन ८ — भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ सिन्टीटारमा दुई दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    सिन्टीटारस्थित स्थानीय निरज चक्रधरको घरमा डेरा लिएर बस्दै आएका ती किशोरीहरू बिहीबार बिहान सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए।

    मृतकको पहिचान सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेलका रूपमा खुल्न आएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती किशोरीहरू भारतको मुम्बईबाट झण्डै दुई साताअघि मात्र नेपाल फर्किएका थिए।

    उनीहरू राजधानी आएलगत्तै भक्तपुरमा डेरा लिएर बस्न थालेको बताइएको छ। घटनाको खबर पाएलगत्तै प्रहरी टोली पुगेको थियो र हाल घटनाको प्रकृति र कारणबारे गहिरो अनुसन्धान भइरहेको छ।

    मृतकका पिता हाल मुम्बईबाट काठमाडौं आउँदै छन् र उनी पुगेपछि मात्रै औपचारिक मुचुल्का र कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

    डेरामा आएका दुई साता नपुग्दै यस्तो दुःखद घटना घटेको र उनीहरू साझा प्यासेजमा झुन्डिएको अवस्थामा भेटिएकाले घटनापछि स्थानीयहरू पनि स्तब्ध छन्।

    प्रहरीले घटनाबारे सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। आत्महत्या हो वा अरू केही, त्यसको यकिन खुल्न बाँकी छ।