१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता, प्रहरीको खोजी कार्य तीव्र



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९४
  • सिन्धुली, साउन १२ - गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले बेपत्ता भएका छन्। सोमबार बिहानदेखि सम्पर्कविहीन बनेका उनीहरूको खोजी कार्यमा अहिले प्रहरी सक्रिय भएको छ।

    स्थानीयवासीले परिवारका सबै सदस्य बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका थिए। सोही आधारमा प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको हो।

    जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बेपत्ता भएकी उर्मिला हायुको घरमा सामान्य क्षति देखिएको छ। "घरमा कुखुरा, बाख्रा, भैंसीजस्ता पाल्तु जनावरहरू अलपत्र अवस्थामा भेटिएका छन्। तर घरमा कोही पनि मानिस छैन," सुवेदीले भने।

    उनका अनुसार घटनाको गम्भीरताका कारण स्थानीय जनप्रतिनिधि र गाउँलेसँग मिलेर परिवारको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको छ। हालसम्म उनीहरू कहाँ गए भन्ने स्पष्ट नखुले पनि प्रहरी यो घटनालाई रहस्यमय मान्दै छानबिनलाई तीव्र बनाएको छ।

    यस घटनाले स्थानीय बासिन्दामा चिन्ता र त्रास फैलिएको छ। प्रहरीले सम्भावित अपहरण, सामूहिक पलायन वा अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ।