चितवन, साउन १५ – लामो समयदेखि विद्युत् आपूर्तिमा समस्या खेपिरहेको चितवनका उपभोक्ताले अब राहतको सास फेर्ने भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार चितवन जिल्लामा देखिएको विद्युत् लोडको समस्या शतप्रतिशत समाधान गरिएको छ।
बागमती प्रदेश डिभिजन प्रमुख जितेन्द्र कुमार झाका अनुसार भरतपुर महानगरपालिका–१३ स्थित देवनगरबाट ११ केभीको नयाँ फिडरमार्फत विद्युत् आपूर्ति सुरु भएसँगै चनौली वितरण केन्द्रमा परेको अत्यधिक लोड घटेको छ। यसअघि चनौली केन्द्रले अधिकांश क्षेत्रलाई आपूर्ति गर्दै आएको थियो, तर ३३ केभी प्रसारण लाइनले त्यसको भार थेग्न नसकेपछि समस्या उत्पन्न भएको थियो।
देवनगरबाट अब जगतपुर, शुक्रनगर र माडी क्षेत्रमा सिधा आपूर्ति सुरु भएसँगै चनौलीको दबाब कम भएको हो। साथै, हर्दी सबस्टेशनमा २४ एमभीएको ट्रान्सफर्मर जडान गरी पूर्वी चितवनको टाँडी र चैनपुर क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्ति सुरु गरिएको हर्दी इन्चार्ज रोशन खनियाँले जानकारी दिए।
टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीका अनुसार, लगातार लाइन जानु, खेतमा पानी तान्न नपाउनु, बोरिङ पम्प नचल्ने जस्ता समस्या समाधान भइसकेको छ। गर्मीयाममा बोरिङ पम्पहरू अत्यधिक चलाइँदा लोड बढेर लाइन जाने समस्या थियो।
‘अब हामी ओभर लोडबाट अण्डर लोडको अवस्थामा पुगिसकेका छौं,’ डिभिजन प्रमुख झाले भने, ‘विद्युत् आपूर्ति व्यवस्थित भएकाले अब उपभोक्ताले ढुक्क भएर आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछन्।’
चितवनमा साउन १० गते लोड कटौतीको सूचना जारी भएपछि स्थानीयले आलोचना गर्न थालेका थिए। त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयम् साउन १२ गते चितवन पुगेर समस्या स्थलगत निरीक्षण गरेका थिए।
प्राधिकरणका अनुसार देवनगर–जगतपुर प्रसारण लाइनको संरचना समेत बलियो बनाइएको छ। पोल ढल्ने वा अन्य आकस्मिक प्राविधिक समस्या बाहेक, अब चितवनमा ओभर लोडका कारण लाइन जाने समस्या नरहने स्पष्ट संकेत प्राधिकरणले दिएको छ।
प्रतिक्रिया दिनुहोस