काठमाडौं, साउन १८ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति तीव्र असन्तुष्टि जनाएका छन्।
आइतबार बसेको स्थायी कमिटी बैठकमा शर्माले विगतमा प्राप्त जनमत गुमाउनुमा अध्यक्ष प्रचण्डको भूमिकालाई मुख्य कारण ठहर गर्दै आफ्ना गम्भीर धारणा सार्वजनिक गरेका हुन्।
शर्माले २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले पाएको जनमत अध्यक्ष प्रचण्डकै नेतृत्वगत कमजोरीका कारण हराएको आरोप लगाए। “वर्गप्रतिको प्रतिबद्धताबाट विचलन, संघीयताको स्वामित्व लिन नसक्नु, र पहिचानको मुद्दा त्याग्नु जस्ता कारणले हामीले ३१ लाख मत गुमाएका हौं,” बैठकमा शर्माले भने, “अब त्यो जनमत फर्काउन सकिन्छ त? गम्भीर सोच्नुपर्छ।”
उनले वैचारिक दिशाको अस्पष्टता, संगठनमा अराजकता, र विधिप्रतिको बेवास्ताका कारण पार्टी गम्भीर संकटमा फसेको भन्दै केन्द्रिकृत मानसिकता त्यागेर पार्टीको पुनर्संरचना आवश्यक रहेको बताए। शर्माले पार्टीलाई नयाँ संरचना, स्वचालित कमिटी र आर्थिक आत्मनिर्भरताको दिशामा लैजानुपर्ने प्रस्ताव राखे।
“विचारको बहस, स्पष्ट राजनीतिक लाइन, विधि र प्रणालीसहितको स्थायी संरचना र उत्पादनमुखी सोच अपरिहार्य भएको” उनको भनाइ छ। साथै, उनले पार्टीभित्र जनउत्तरदायीत्व र प्रतिस्पर्धा सुनिश्चित गर्न विशेष महाधिवेशनको माग समेत गरेका छन्।
शर्माले आफू देश र जनताको लागि जुनसुकै त्याग गर्न तयार रहेको भन्दै अध्यक्ष प्रचण्ड पनि अब जिम्मेवारी लिनुपर्ने बताए। “म आत्मालोचनामात्र होइन, जुनसुकै त्याग गर्न तयार छु,” उनले भने, “तर अध्यक्षले पनि आफैंबाट सुरु गर्नुपर्छ।”
बैठकमा बोल्ने अन्य नेताहरूले भने शर्मालाई आत्मालोचनाको सुझाव दिएका थिए। शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आइतबारसम्म जारी छ। पार्टीभित्रको वैचारिक मतभेद र नेताबीचको असन्तुष्टि अब सतहमा देखिन थालेको विश्लेषण गरिँदैछ।
प्रतिक्रिया दिनुहोस