१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८३
  • हेटौंडा, साउन २० – बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणसँगै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो बानियाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकारको प्रमुखमा नियुक्त गरेका हुन्।

    बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ मत प्राप्त गरी बहुमत दाबी गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ५६ मतभन्दा बढी समर्थन प्राप्त गरेसँगै उनी मुख्यमन्त्री बन्न सफल भएका हुन्।

    मकवानपुर निवासी बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा मुख्यमन्त्री भइसकेका छन्। मकवानपुरबाट यसअघि डोरमणि पौडेल पहिलो मुख्यमन्त्री भएका थिए भने बानियाँ दोस्रो हुन्।

    बानियाँले २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट मकवानपुरबाट प्रत्यक्ष जितेका थिए। उनी २०७३ सालमा केन्द्र सरकारमा गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत भइसकेका छन्। संघीय संरचना कार्यान्वयनसँगै २०७४ मा प्रदेश सभामा प्रवेश गरेका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि बनेका थिए।

    हालै कांग्रेसकै मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध बानियाँ पक्षीय सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। १३ साउनमा भएको मतदानमा प्रस्ताव पारित भएपछि लामाले राजीनामा दिएका थिए। त्यसपछि १४ साउनमा दलको नेतामा निर्वाचित भएका बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

    एक वर्षअघि कांग्रेस र एमालेबीच भएको २०–२० महिनाको सत्ता बाँडफाँटको सहमतिअनुसार बानियाँले आगामी ८ महिना सरकारको नेतृत्व गर्ने छन्। त्यसपछि नेतृत्व एमालेले लिने सहमति छ।

    बागमती प्रदेशमा हाल कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टी गरी सात दलको प्रतिनिधित्व छ। बानियाँ नेतृत्वको सरकार दुई ठूला दल कांग्रेस र एमालेको सहकार्यमा गठन भएको हो।

    बानियाँको नेतृत्वमा गठित यो सरकारको प्राथमिकता विकास, राजनीतिक स्थायित्व र प्रदेशमा प्रभावकारी शासन कायम गर्ने रहेको छ।