पर्सा, साउन २३ – पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई एक ११ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, बुधबार बिहान बाख्रा चराउन गएकी बालिकालाई साहले १० रुपैयाँको नोट देखाएर ललाई फकाई नजिकैको जंगलमा लगेका थिए। त्यहाँ साहले बालिकामाथि अनुचित क्रियाकलाप गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
घटना थाहा पाएपछि पीडित बालिकाका अभिभावकले सोही दिन प्रहरीमा जाहेरी दर्ता गरेका थिए। जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार अपराह्न ३ बजे साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, पक्राउ परेका साहविरुद्ध बाल यौन दुर्व्यवहार तथा जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ भने उनलाई आवश्यक मनोपरामर्शसमेत दिइने प्रहरीले जनाएको छ।
सार्वजनिक स्थान, जंगल, खेतबारीजस्ता एकान्त क्षेत्रमा बालबालिकालाई एक्लै नपठाउन अभिभावकलाई सुरक्षा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस