काठमाडौं, साउन २६ — रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये पहिलो दिनमै १८ हजार ८८८ जनाले आवेदन दिएका छन्।
इपिएस शाखाका अनुसार साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरिएको सन् २०२५ को इपिएस भाषा परीक्षामा सोमबार साँझ ५ बजेसम्म यति ठूलो संख्यामा आवेदन प्राप्त भएको हो।
पहिलो चरणको भाषा परीक्षाबाट करिब ५ हजार ३०० जना मात्र छनोट हुने अनुमान गरिएको छ। यसमा उत्पादनमूलक क्षेत्रका लागि ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रका लागि १ हजार ८०० कोटा राखिएको शाखाले जनाएको छ।
कोरियामा कामदारको मागअनुसार यस संख्यामा घटबढ हुन सक्ने सम्भावना छ। साथै, एक व्यक्तिले एउटा मात्र क्षेत्रका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
शाखाले भाषा परीक्षा पास गरेपछि मात्र रोजगारीको सुनिश्चितता नहुने स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस