१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चक्रे मिलनलाई ज्यान मार्ने उद्योगको मुद्दामा धरौटीमा रिहा



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३३३
  • काठमाडौं, साउन ३० - गुन्डा नाइकेको रूपमा परिचित मिलन गुरुङ ‘चक्रे मिलन’लाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

    न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा चक्रेलाई १ लाख १० हजार रुपैयाँ धरौटी बुझाएर छुटाउने आदेश जारी गरेको हो।

    जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार तोकिएको धरौटी चक्रेले बुझाइसकेका छन् र अहिले रिहाको प्रक्रिया भइरहेको छ।

    चक्रेविरुद्ध एक वर्षअघि सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा भएको आक्रमण प्रकरणमा मुद्दा दर्ता गरिएको हो। पीडित मनिष रायमाझीका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीमा चक्रेसहित अजित खवास र अन्य केही व्यक्तिहरूको नाम उल्लेख गरिएको थियो। सो घटनामा रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरी घाइते बनाइएको आरोप छ।

    चक्रे बुधबार मात्र अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी बुझाएर काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए। तर भक्तपुरमा रहेको अर्को मुद्दाका कारण उनलाई तत्कालै भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

    यसअघि १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। महाराजगञ्जको होटल साम्बालामा मध्यराति जन्मदिन पार्टीको नाममा होहल्ला भइरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।