काठमाडौं, भदौ ३ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ दलहरूले विपक्षीलाई कमजोर पार्ने र तर्साउने रणनीति अघि बढाएको आरोप लगाएका छन्।
सिंहदरबारमा बस्न लागेको विपक्षी दलहरूको बैठकअघि पत्रकारसँग कुरा गर्दै उनले उपसभामुखमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी त्यसैको उदाहरण भएको बताए।
‘सत्तारुढ एमाले र कांग्रेसले बेमौसमी ढंगले उपसभामुखलाई हटाउने हस्ताक्षर अभियान सुरु गरेपछि यसको उद्देश्य स्पष्ट भएको छ—विपक्षी दललाई डर देखाउने,’ पुनले टिप्पणी गरे।
उनका अनुसार एक वर्षअघि पनि यस्तै कोसिस भएको थियो। अहिले फेरि विभिन्न स्वार्थका आधारमा विपक्षी दललाई दबाबमा राख्ने काम भइरहेको उनले दाबी गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश महत्वाकांक्षा यस घटनाबाट झल्किएको पुनको भनाइ छ। ‘जनताले दिएको जनादेशलाई मिलाएर अघि बढ्नु लोकतान्त्रिक संस्कार हो तर अहिले उल्टो अभ्यास भइरहेको छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस