१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षा विधेयक सच्याउन निजी विद्यालयहरूको दबाब, माइतीघरमा प्रदर्शन



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६७
  • काठमाडौं, भदौ ५ – विद्यालय शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकले आन्दोलनको घोषणा गरेका छन्। संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक पारित गर्ने प्रक्रिया अघि बढेपछि उनीहरू बिहीबार माइतीघर मण्डलामा ब्यानरसहित उत्रिएका हुन्।

    शिक्षक र प्रधानाध्यापकहरूले सरकारले आफ्ना माग वेवास्ता गरेकाले अब चरणबद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन्। उनीहरूले माग सम्बोधन नभए भदौ ९ गतेबाट विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

    आन्दोलन कार्यक्रमअनुसार भदौ ६ गते देशभरका विद्यालय बसमा कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा गर्ने, काठमाडौंमा विरोध र्‍याली निकाल्ने र समिति तथा संसद घेराउ गर्ने तयारी छ।

    प्याब्सन, एनप्याब्सन, हिसान र अपेनसहितका निजी विद्यालयका चार छाता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकका केही बुँदा सच्याउनुपर्ने माग गरेका छन्। उनीहरूको मुख्य असन्तुष्टि निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने व्यवस्था, ‘पूर्ण छात्रवृत्ति’ अनिवार्य गराउने प्रावधान, विद्यालयले पोसाक, स्टेशनरी र खाजा उपलब्ध गराउनुपर्ने दायित्व, र छात्रवृत्ति वितरण अधिकार विद्यालयबाट खोस्ने प्रस्तावप्रति छ।

    छाता संगठनहरूले छात्रवृत्ति वितरणको अधिकार विद्यालयकै जिम्मेवारीमा रहनुपर्ने र पालिकाको प्रतिनिधित्वसहितको समिति मार्फत पारदर्शी ढंगले वितरण गर्न सकिने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

    सरकारले विधेयकमा संशोधन नगरे आन्दोलन अझै चर्काउने उनीहरूको चेतावनी छ।