काठमाडौँ, भदौ ६ - नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीन–भारतबीच लिपुलेकमार्ग व्यापार पुनः सञ्चालन गर्ने सहमति अस्वीकार्य भएको बताएका छन् ।
शुक्रबार सार्वजनिक वक्तव्यमार्फत खनालले उक्त सम्झौताले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि ठुलो धक्का पुर्याएको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।
“नेपालको भूमिमा अतिक्रमण गरेर गरिएको सहमति नेपाली जनताको भावनाविपरीत छ,” उनले भने, “यसविरुद्ध सम्पूर्ण नेपाली जनता, राजनीतिक दल र संघ–संस्थाले एउटै आवाजमा उठ्न जरुरी छ ।”
खनालले संसद्मा राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गरी चीन–भारतसँग नेपालको भू–अधिकार स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, ऐतिहासिक नक्सा, अभिलेख र सन्धि–सम्झौताका प्रमाणलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय जगतमा नेपालले आफ्नो धारणालाई मजबुत बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस