काठमाडौं, भदौ ९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको पक्षमा उनकी पत्नी निकिता पौडेल लामिछाने खुलेर अगाडि आएकी छिन्।
उनले सोमबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा रिट दर्ता गर्दै श्रीमानलाई बिगो रकम तोकी बैंक जमानतमा जेलबाहिरैबाट मुद्दा लड्न दिने व्यवस्था मिलाउन माग गरेकी हुन्।
निकिताले आफ्नो माग सार्वजनिक गर्दै भनिन् – “संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका सबै ढोकामा म ढकढक्याउनेछु। न्याय पाइयोस् कि नपाइयोस्, म न्याय खोजिरहनेछु।”
उनका अनुसार, रवि लामिछाने जेलभित्र सुरक्षित छैनन्। भैरहवा कारागारमा भएको अवस्थालाई स्मरण गर्दै उनले थपिन् – “किन उहाँलाई जेल सार्न मानिरहेका थिएनन् भन्ने कुरा अब भन्नै पर्दैन। नियत प्रस्ट भइसकेको छ।”
निकिताले अन्तिममा आग्रह गर्दै भनिन् – “बिगो रकम निर्धारण गरेर त्यस बराबरको बैंक जमानत लिनुहोस्। तर उहाँलाई जेलबाहिरैबाट मुद्दा लड्न दिनुहोस्। यही मेरो माग हो।”
जिल्ला अदालत बुटवलले दिएको आदेशविरुद्ध उच्च अदालतमा दर्ता गरिएको रिट निवेदनमाथि अब सुनुवाइ हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस