काठमाडौँ, भदौ ११ - कबाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाले गरेको ज्यादतीको विरोधमा बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलन भृकुटीमण्डपबाट सुरु भएर कमलादीस्थित महानगरको कार्यालयसम्म पुगेको थियो, जहाँ प्रदर्शनकारीहरूले महानगरलाई घेराउ गरेका थिए ।
कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताका अनुसार, सर्वोच्च अदालतको आदेश विपरीत महानगर प्रमुख बालेन्द्र शाहले व्यवसायीमाथि ज्यादती गरिरहेकाले उनीहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको हुन् । उनले भने, “सर्वोच्चको आदेश पालना नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।”
शान्तिपूर्ण आन्दोलनलाई काठमाडौँका सुकुम्बासीहरूले पनि समर्थन गरेका छन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै व्यवसायीको माग सुनुवाइ नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
आन्दोलनमा सहभागीहरूले “सर्वोच्चको आदेश पालना गर, व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी रोक” जस्ता नारा लगाएका थिए । उनीहरूको पाँच बुँदे मागमा व्यवसाय गर्ने हकको सुनिश्चितता, अपहरण–ज्यादती रोक, प्रहरीको कानुनी कारबाही, जिउ–धनको सुरक्षा र विगत क्षतिको क्षतिपूर्ति समावेश छन् ।
यसैबिच, आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पनि सरकारले तीन दिनदेखि जारी आन्दोलनप्रति गम्भीरता नदेखाएकोमा दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस