वीरगञ्ज, भदौ १६ - गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै अविभाज्य भूमि भएको स्पष्ट पारेका छन्।
नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आपत्ति उचित रहेको बताए।
गृहमन्त्री लेखकका अनुसार नेपालको सार्वभौम भूभागलाई कुनै पनि राष्ट्रसँगको सम्बन्ध बिगार्ने विषयको रूपमा व्याख्या गर्न नहुने र यसमा छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्ने आधार नभएको उल्लेख गरे।
“हाम्रो भूमि हाम्रो नै हो। यसबारेमा हामी स्पष्ट छौँ। यसले कसैसँगको मित्रतामा असर पार्दैन,” मन्त्री लेखकले भने।
उनले नेपालको भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिइने आश्वासन पनि दिए।
प्रतिक्रिया दिनुहोस