काठमाडौं, भदौ २२ - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी वर्गमाथि व्यंग्य गर्दै सरकारका सकारात्मक कार्यहरूलाई बेवास्ता गर्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनको तेस्रो दिन आइतबार हलमा सम्बोधन गर्दै ओलीले बुद्धिजीवीहरूलाई पुतलीसँग दाँजेर कथा सुनाए ।
उनले भने, “एउटा पुतली रस खाएर निदाउँछ, सपनामा डाक्टर, इन्जिनियर, पाइलट, मन्त्री भएको देख्छ । तर उठ्दा पनि त्यो पुतली नै रहन्छ । अहिलेका बुद्धिजीवीहरू त्यस्तै बनेका छन्, सरकारले गरेको राम्रो काम नदेख्ने, आलोचना गर्न मात्र खोज्ने ।”
ओलीले सरकारले लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूभागका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको, तर बुद्धिजीवीहरूले त्यो उपलब्धिलाई समेत नजरअन्दाज गरेको आरोप लगाए ।
सामाजिक सञ्जाल बन्दबारे समेत ओलीले टिप्पणी गर्दै भने, “नेपालको सार्वभौमिकता र राष्ट्रियता जोगाउन सामाजिक सञ्जाल दर्ता अनिवार्य बनाइएको हो । तर केही तथाकथित बुद्धिजीवीले यसलाई वाक स्वतन्त्रता कुण्ठित भएको भनेर प्रचार गर्दैछन्, जुन भ्रम हो ।”
उनका अनुसार सरकारले कानुनी दायराभित्र ल्याउन आग्रह गर्दा पनि केही कम्पनीहरूले बेवास्ता गरेपछि सञ्चालनमा रोक लगाइएको हो ।
ओलीले बुद्धिजीवी वर्गप्रति असन्तुष्टि प्रकट गर्दै निष्कर्ष निकाले, “सरकारको राम्रो काम नदेख्ने र नराम्रो मात्र खोज्ने बुद्धिजीवीहरू वास्तवमै पुतलीझैं भए ।”
प्रतिक्रिया दिनुहोस