काठमाडौं, भदौ २२ - सामाजिक सञ्जाल खुलाउन माग गर्दै जेन जेड समूहले भोलि माइतीघरमा गर्ने आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी हुन नदिने निर्णय गरिएको छ ।
आज तीनकुनेमा बसेको जेन जेड नेताहरूको बैठकले प्रसाईं आन्दोलनमा आए ‘नट अलाउड’ भन्ने ब्यानर देखाइने निर्णय गरेको हो ।
जेन जेड अभियानका सदस्य आदित्य मिश्रका अनुसार प्रसाईंमाथि अदालतमा मुद्दा चलिरहेका कारण उनीहरूलाई आन्दोलनमा समावेश नगर्ने निष्कर्ष निकालिएको हो । “हाम्रो आन्दोलन सबैलाई खुलेको छ, तर उहाँ क्लिन मान्छे नभएकाले सहभागी गराइँदैन,” उनले भने ।
यसअघि प्रसाईंले सामाजिक सञ्जालमार्फत आफू पनि जेन जेडको आन्दोलनमा सहभागी हुने घोषणा गरेका थिए । तर, जेन जेडका अगुवाहरूले यो आन्दोलनलाई विशुद्ध आफ्नै पहलको रुपमा अगाडि बढाउने अठोट गरेका छन् ।
उनीहरूले सरकारसमक्ष सामाजिक सञ्जाल निशर्त खुलाउने, बुढा नेताहरूले प्रधानमन्त्री नबन्ने प्रतिज्ञा गर्ने, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुने माग अघि सारेका छन् ।
भोलि बिहान ९ बजेदेखि माइतीघर मण्डलामा जेन जेड युवाहरूले प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस