३ असोज २०८२ शुक्रबार | 19 Sep 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्ड : निर्धारित समयमै निर्वाचन सम्पन्न हुनुपर्छ



  • अञ्जना ढकाल
  • १५ घण्टा अघि
  • पाठक संख्या ४९
  • काठमाडौँ, असोज २ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार जारी भिडियो वक्तव्यमार्फत उनले मुलुकलाई अस्थिरताबाट जोगाउन चुनाव ढिलाइ नगर्न आग्रह गरे।

    प्रचण्डले भने, “देश र जनताविरुद्धका षड्यन्त्र अझै बाँकी छन्। अन्तरिम सरकारलाई असफल बनाउन तथा निर्वाचन रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ।”

    उनले अतीतमा भएका कमजोरी स्वीकार गर्दै पार्टी र नेतृत्व दुवै सुधारको प्रक्रियामा रहेको बताए। “हामीले गलत नीति लिएका होइनौं, तर कार्यान्वयनमा कतिपय त्रुटि भएका छन्,” उनको भनाइ थियो।

    प्रचण्डले आफ्नो कार्यकालमा कुनै राष्ट्रघाती सम्झौता नगरेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष जारी राखेको स्मरण गराए। तर, जनताका अपेक्षासँग तुलना गर्दा आफूहरूको कदम कमजोर देखिएको स्वीकार गर्दै सच्याउने प्रतिबद्धता दोहोर्याए।

    नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल सुरु भएको जानकारी दिँदै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रति विचलन भए मुलुक संकटतर्फ जाने चेतावनी पनि दिए।

    उनले लोकतन्त्रवादी शक्तिलाई सचेत रहन आह्वान गर्दै भने, “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो। संविधान र लोकतन्त्रको रक्षा गर्नु सबै नेपालीको साझा दायित्व हो।”