धादिङ, असोज ९ - धादिङको बेनिघाट रोराङ–१० ज्वाङखोला र तिङराङखानीमा बिहीबार बिहान खसेको पहिरोका कारण पृथ्वी राजमार्ग बन्द भएको छ । बिहान करिब १० बजे खसेको पहिरोले सडकमा ठुलो मात्रामा ढुङ्गा र माटो थुप्रिएपछि दुबै तर्फको सवारी आवागमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
दसैँको भीडमा घर फर्किने यात्रुको चाप बढिरहेको बेला बाटो अवरुद्ध हुँदा हजारौँ यात्रु बाटैमा अलपत्र परेका छन् । सवारीसाधनलाई सम्भावित जोखिम कम हुने ठाउँमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले बताए ।
हाल डोजर परिचालन गरेर पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि अझै थप पहिरो खस्ने सम्भावना उच्च रहेको प्रहरीले जनाएको छ । यात्रुलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।
यसअघि पनि यही क्षेत्रमा सोमबार राति सुक्खा पहिरो खसेर करिब १७ घण्टा सडक बन्द भएको थियो । बुधबार मात्र सडक सञ्चालनमा आएको पृथ्वी राजमार्ग बिहीबार पुनः अवरुद्ध हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस