२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

३५ वर्षमा सार्वजनिक ऋण ३४ गुणा बढ्यो, नेपालीको काँधमा ९४ हजारको भार



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ७३
  • काठमाडौं, असोज १४ – नेपालमा सार्वजनिक ऋण लगातार बढ्दै गएको छ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब नाघिसकेको छ। यसले प्रत्येक नेपाली नागरिकलाई औसत ९४ हजार ६५ रुपैयाँ ऋणको भार पुर्‍याएको छ।

    सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०४७ सालमा प्रति व्यक्ति ऋण २ हजार ८ सय ४२ रुपैयाँ मात्रै रहेको र अहिले ३५ वर्षमा बढेर ९४ हजार पुगेको तथ्य प्रस्तुत गरेको छ।

    २०४७ सालमा सरकारको कुल सार्वजनिक ऋण ५१ अर्ब ४७ करोड मात्र थियो। हाल भने आन्तरिक ऋण १३ खर्बभन्दा बढी र बाह्य ऋण करिब १३ खर्ब ६५ अर्ब गरी कुल २६ खर्ब ६७ अर्ब पुगेको छ।

    जसरी ऋणको रकम बढेको छ, त्यसैगरी प्रयोगका दाबी पनि सरकारको छ। प्रधानमन्त्री कार्यालयका अनुसार ऋणलाई तलब–भत्ता जस्ता चालु खर्चमा होइन, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, ऊर्जा र भौतिक पूर्वाधार जस्ता उत्पादनशील क्षेत्रमा लगाइएको छ।

    हाल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३.९ प्रतिशत बराबर छ, जुन २०४७ सालको ४९.८ प्रतिशतभन्दा केही कम हो। सरकारले अहिलेको ऋणलाई मुलुकको आर्थिक क्षमताभित्र भएको र जोखिम न्यून रहेको दाबी गरेको छ।

    तर आत्मनिर्भर अर्थतन्त्रको योजना के छ भन्ने प्रश्नमा भने सरकारले स्पष्ट जवाफ दिएको छैन।