१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि पूर्वजनमुक्ति सेनाको घेरामा प्रचण्ड



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३१५
  • काठमाडौं, असोज २४ - सरकारले पूर्वपदाधिकारीहरूमाथि राखिएका मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पूर्वजनमुक्ति सेनाको सुरक्षाघेराभित्र पुगेका छन्।

    गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डअनुसार पूर्वपदाधिकारीहरूका अतिरिक्त सुरक्षाकर्मीहरू फिर्ता बोलाउने निर्णय गरेपछि माओवादी केन्द्र नजिकका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन्। यो निर्णय सार्वजनिक भएपछि वाईसीएल (युवा कम्युनिस्ट लिग) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डको सुरक्षा अब पूर्वजनमुक्ति सेनाले नै गर्ने घोषणा गरेका हुन्।

    ‘क. प्रचण्डलगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्दै आएका छन् र गर्दै रहनेछ,’ दीपशिखाले लेखेका छन्, ‘सत्तामा बदलाभाव देखिए ओलीकै शासनजस्तो परिणाम हुनेछ।’

    गृह मन्त्रालयका अनुसार प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने तयारी छ। पूर्वप्रधानमन्त्रीको हैसियतमा उनी सशस्त्र प्रहरीले एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीले दुई जना जुनियर अधिकृत राख्न पाउने प्रावधान गृह प्रशासनमा उल्लेख छ।

    माओवादी स्रोतका अनुसार, जेनजी विद्रोहका घटनापछि सिंहदरबारदेखि नेताहरूको निजी आवाससम्म आक्रमण भएका बेला प्रचण्डलाई राज्यले एक दिनमात्र सुरक्षा दिएको थियो। त्यसपछि भने माओवादीको पूर्व पीएलए र वाईसीएलले निरन्तर सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको दाबी गरिएको छ।

    वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार प्रचण्डका लागि दुई तहको सुरक्षा व्यवस्था गरिएको छ—भित्री घेरामा पूर्वजनमुक्ति सेनाको जिम्मेवारी छ भने बाहिरी घेराको व्यवस्थापन वाईसीएलले गरेको छ।

    ‘अध्यक्षलाई कुनै कार्यक्रममा जानु भएमा हामी पहिल्यै सुरक्षा मूल्याङ्कन गर्छौं,’ ओलीले भने, ‘उपत्यकामा वाईसीएल र पीएलए खटाइएका छन् भने जिल्लामा सम्बन्धित स्थानीय संरचनाले सुरक्षा व्यवस्थापन गर्छ।’

    शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुँदासम्म पूर्वप्रधानमन्त्रीप्रति पूर्वाग्रहपूर्ण निर्णय नगर्न सरकारलाई आग्रह गर्दै दीपशिखाले भने, “शान्ति सम्झौतामै विशेष सुरक्षा व्यवस्था स्पष्ट छ, त्यसलाई राज्यले सम्मान गर्नुपर्छ।”

    यसबीच, प्रचण्ड हाल ललितपुरको सातदोबाटो–खुमलटार क्षेत्रमै बसोबास गर्दै आएका छन्। उनका नजिकका नेताहरूका अनुसार, गृह मन्त्रालयको निर्णयले पूर्वमाओवादी नेतृत्वमा पुनः असन्तुष्टि र राजनीतिक तनाव थपिएको छ।