१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशभर जेनजी सम्मेलन हुनुपर्ने मागसहित युवाको प्रदर्शन



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २७५
  • काठमाडौं, कात्तिक ७ – नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने जेनजी समूहले देशभरका जिल्लामा जेनजी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलन गर्नुपर्ने मागसहित शुक्रबार माइतीघरमा धर्ना दिएका छन्।

    धर्नामा सहभागीहरूले जेनजी पुस्ताको माग र आकांक्षा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको रक्षा गर्न आग्रह गरेका थिए। उनीहरूले सरकारसँग जेनजी सम्मेलनका लागि आवश्यक वातावरण बनाउन माग गरे।

    जेनजी प्रतिनिधि सदिक्षा राईले मुलुकभर सम्मेलन सञ्चालन गरी काठमाडौंमा केन्द्रीय सम्मेलन आयोजना गर्नुपर्ने बताइन्। “देशका सबै जिल्लाबाट प्रतिनिधि सहभागिता हुने गरी सम्मेलन आयोजना गरिनुपर्छ, यसबाट प्रदेशगत प्रतिनिधि छनोट हुनेछ,” उनले भनिन्।

    उनका अनुसार वर्तमान सरकार जनताको आशा र शहीदको सपना बोकेको सरकार भएकाले नयाँ पुस्ताप्रति पनि समान जिम्मेवारी लिनुपर्छ। “सरकार पारदर्शी र जवाफदेही बन्नुपर्छ, अहिले देश संकटमा छ, यस्तो अवस्थामा एकता र सहकार्य अपरिहार्य छ,” उनले जोड दिइन्।

    धर्नामा सहभागी मदन कार्कीले जेनजीका नाममा कुनै पनि गुटबन्दी नगर्न सबैलाई आग्रह गरे। “हामी सबै जेनजीहरू एकजुट हुनुपर्छ, मुलुकको उज्ज्वल भविष्यका लागि सरकारले पनि हाम्रो अभियानमा साथ दिनुपर्छ,” उनले भने।

    प्रदर्शनका क्रममा सहभागीहरूले ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले, अहङ्कार पछि’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारका सदस्य तथा विभिन्न क्षेत्रका युवाको पनि सक्रिय सहभागिता रहेको थियो। उनीहरूले भदौ २३ र २४ गतेको आन्दोलनमा उठाइएका माग अझै सम्बोधन नभएकाले सरकारलाई पुनः दबाब दिन धर्ना आयोजना गरिएको बताए।