काठमाडौं, कार्तिक १० - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठकले भ्रष्टाचारविरुद्ध र देशको स्वाधीनता तथा समाजवादका पक्षमा संघर्ष तीव्र बनाउने घोषणा गर्दै उक्त कार्यक्रम तय गरेको हो।
असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले हालको राजनीतिक परिस्थिति, विशेष गरी जेनजी विद्रोहपछि देशको अवस्थाको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो।
बैठकले तय गरेका कार्यक्रमअनुसार कार्तिक १३ गते देशभर भित्ते लेखन, कार्तिक १५ गते देशव्यापी मसाल जुलुस, कार्तिक १७ गते विरोध प्रदर्शनसहित कोणसभा, र कार्तिक २० गते काठमाडौंमा बृहत् जनसभा आयोजना गरिनेछ।
जनसभामा पार्टी महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले सम्बोधन गर्नेछन्। उनले देशमा उत्पन्न राजनीतिक संकट र त्यसको समाधानका उपायबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ।
बैठकले यसअघि घोषणा गरेको संघर्षका नारा र मागहरू पनि पुनः दोहोर्याएको छ। तीमध्ये मुख्य मागहरू यस्ता छन् - सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रवृत्तिका गैरसरकारी संस्थाहरू खारेज गर र GEN-Z आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन गर।
पार्टीले जनसभालाई आगामी राजनीतिक अभियानको सुरुवातका रूपमा लिएको बताइएको छ। नेकपाका अनुसार यो जनसभा “भ्रष्टाचारविरुद्धको निर्णायक आवाज” र “स्वाधीनता तथा समाजवादको संघर्षको नयाँ चरण” हुनेछ।
प्रतिक्रिया दिनुहोस