बुटवल, कात्तिक १३ - सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
मामिला न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा रहेको छ। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले एकसाथ सुनुवाइ गर्न आदेश दिएको थियो।
लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी थुनाबाहिरबाट मुद्दा लड्न माग गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
समान प्रकृतिको निवेदन जोशीले पनि दर्ता गरेका छन्। दुवैले समान रकमको जमानत पेस गरे पनि अदालतले उनीहरूको जिम्मेवारीमा पर्ने बिगो रकम अझै स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश दिएको थियो।
सरकारी वकिल र प्रतिवादी पक्षका वकिलबीच आज सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।
यसअघि बुटवलस्थित उच्च अदालत परिसरमा जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण अदालतको संरचना क्षतिग्रस्त भए पनि रवि र जोशीको मुद्दासम्बन्धी फाइल भने सुरक्षित रहेको बताइएको छ।
सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। हाल लामिछानेलाई ललितपुरको नख्खु कारागारमा, र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस