काठमाडौं, कार्तिक १४ - अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि निश्चित शुल्क तिर्नुपर्ने भएको छ। सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रियामा शुल्क प्रणाली लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार, अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्नेछ। साथै, प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने र त्यसका लागि २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि अनलाइन मिडियाको दर्ता र नियमन जिल्ला प्रशासन कार्यालयमार्फत हुँदै आएकोमा अबदेखि सूचना तथा प्रसारण विभाग मार्फत दर्ता तथा नियमन हुनेछ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि यो संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको हो।
नयाँ प्रावधान लागू भएपछि अनलाइन सञ्चारमाध्यमहरूको व्यवस्थापन र नियमन थप व्यवस्थित हुने सरकारको दाबी छ, भने सञ्चालकहरूले भने यो शुल्क साना अनलाइनका लागि थप आर्थिक बोझ हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस