१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फेसबुक स्टाटसका कारण मेयर बालेन पुनः विवादमा



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २८३
  • काठमाडौँ, कात्तिक १६ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले ठूलो विवाद निम्त्याएको छ। उनले शनिबार राति पोस्ट गरेको उक्त स्टाटसमा भारत, चीन र अमेरिकालाई लक्षित गर्दै अशोभनीय शब्द प्रयोग गरेका थिए।

    त्यसैगरी उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको समेत नाम उल्लेख गर्दै आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेकाे छ। उक्त स्टाटस सार्वजनिक भएपछि केही बेरमै उनले हटाए पनि त्यसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

    स्टाटस हटाएपछि पनि उनको आलोचना थामिएको छैन। प्रयोगकर्ताहरूले उनलाई पदको गरिमा र जिम्मेवारी बिर्सिएको भन्दै तीव्र प्रतिक्रिया जनाएका छन्। कतिपयले यस्तो व्यवहार जनप्रतिनिधिको हैसियतसँग मेल नखाने टिप्पणी गरेका छन्।

    बालेनले पछिल्लो समय नयाँ राजनीतिक दल बनाउने वा रास्वपामा आवद्ध हुने तयारी गरिरहेको चर्चा चल्दै आएको छ। तर, रास्वपाको नामसमेत अशोभनीय रूपमा उल्लेख गरेपछि उनी सो दलसँग पनि टाढा पुगेको अनुमान विश्लेषकहरूले गरेका छन्।

    यस प्रकरणले बालेन पुनः विवादको केन्द्रमा परेका छन्, र सामाजिक सञ्जालमा अहिले उनको स्टाटसबारे व्यापक बहस चलिरहेको छ।