काठमाडौं, कार्तिक २० - सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका रास्वपा अध्यक्ष रवि लामिछाने र पूर्व मिडिया व्यवसायी छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर–बुटवलमा सुनुवाइका लागि पेस गरिएको छ।
न्यायाधीश बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आज दुवैजनाको मुद्दा हेर्न तोकिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा सामूहिक १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ।
चार भागमा बाँडिएको सो बिगोमध्ये आफूलाई पर्ने अनुमानित रकम रवि लामिछाने र छविलाल जोशी दुवैले छुट्टाछुट्टै जमानतसहित अदालतमा पेस गरेका थिए।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका थिए, जोशीले पनि सोही रकम पेस गरेका थिए।
तर वास्तविक बिगो कति पर्छ भन्ने निर्धारण नभएकाले जिल्ला अदालत रुपन्देहीले दुवैजनालाई रिहा गर्न अस्वीकार गर्ने आदेश दिएको थियो।
जिल्ला अदालतको निर्णयविरुद्ध दुवैले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले मुद्दालाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश दिँदै दुवै पक्षलाई पुनः अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।
हाल लामिछानेलाई नख्खु कारागार सारिएको छ भने जोशी भैरहवा कारागारमै छन्। आजको सुनुवाइबाट उनीहरूको थुनामुक्ति वा थप प्रक्रिया कसरी अघि बढ्ने भन्ने स्पष्ट हुने अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस