काठमाडौं, कात्तिक २६ — नेकपा (एकीकृत समाजवादी)का नेता डा. भीम रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारकै कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएको दाबी गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै रावलले नाम नलिइकन ओलीमाथि तीव्र आक्रमण गर्दै भने, “त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो। तर एक जनाको अहंकार र सत्ताको स्वार्थका कारण दुई तिहाइ बहुमतको सरकार ढल्यो र नेकपा ध्वस्त भयो।”
रावलले ओलीले विदेशी गुप्तचरहरूसँग गोप्य भेटघाट गरी त्यसपछि प्रतिनिधिसभा विघटन गरेको आरोपसमेत लगाए। उनले भने, “दुई तिहाइका प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग अँध्यारो कोठामा भेट गरेपछि दुई दिनमै प्रतिनिधिसभा विघटन गरियो। सर्वोच्च अदालतले संविधानविपरीत ठहर गरे पनि दोस्रोपटक फेरि संसद् विघटन गर्नुभएको थियो।”
रावलले ओली र प्रचण्डबीचको सहकार्यले “नेकपाको जम्बु जेट” दुर्घटनामा परेको टिप्पणी गर्दै भने, “क्याप्टेनले (ओली) नै त्यो जहाज पोखराको सेती खोँचमा ठोक्का दिए, सहायक चालक (प्रचण्ड) आँसु झार्दै पछुताइरहेका थिए। हामी यात्रुहरू भने कराउँदै, चिच्याउँदै पार्टी नडुबाउनोस् भनी विन्ती गरिरहेका थियौँ।”
त्यस्तै, उनले प्रधानमन्त्रीको कार्यालयमा पार्टी बैठक राखेर मनमैजुस्थित केन्द्रीय समिति विस्तार गरेकोमा ओलीमाथि कटाक्ष गर्दै भने, “त्यो बैठकमा माधव, झलनाथ, वामदेव र मसहित कसैलाई पनि नबोलाई ९ सय जनाको केन्द्रीय समिति बनाइयो — वाह! के कम्युनिस्ट पार्टीका नेता!”
रावलका अनुसार यस्तै अहंकार, एकल निर्णय र सत्ताको मोहकै कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र अविश्वसनीय बनेको हो।
प्रतिक्रिया दिनुहोस