काठमाडौं, कात्तिक २७ - आगामी निर्वाचनको तयारी तीव्र भइरहेका बेला निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थप नगर्ने निर्णय गरेको छ। आयोगका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेभित्र नै नामावली दर्ता प्रक्रिया पूरा गर्नुपर्ने बताएका हुन्।
आयोगले समय थप्दा सम्पूर्ण निर्वाचन कार्यतालिका प्रभावित हुने भएकाले पूर्वनिर्धारित म्यादमै काम सक्ने तयारी गरेको जनाएको छ।
यसैबीच, राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिक विवरणलाई मतदाता नामावलीमा प्रयोग गर्ने तयारी पनि गरिएको छ। राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका क्रममा संकलित तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउने जानकारी प्रधानमन्त्रीलाई दिएका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, “राष्ट्रिय परिचयपत्र नम्बर भएका तर स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताको नाम अब स्वतः सूचीकृत हुनेछ, जसले मतदाता दर्ता प्रक्रिया सहज बनाउनेछ।”
निर्वाचन आयोगले तयारीका करिब ६० प्रतिशत काम पूरा भइसकेको जनाएको छ। आयोगका अनुसार, आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने स्थिति बनेको छ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगमा दर्ता भएका कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन अस्वीकार नगरेको र विगतमा बहिष्कार गर्ने दलहरू समेत अब सहभागी हुने तयारीमा रहेको बताएका छन्।
हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराइसकेका छन्। आयोगले निर्वाचन आचारसंहिता मस्यौदा दलहरूलाई पठाइसकेको र छिट्टै निर्वाचन कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जनाएको छ।
प्रधानमन्त्री कार्कीले उम्मेदवारको खर्च घटाउन र मतदाताको सुविधा बढाउन अन्तरजिल्ला मतदान प्रणाली सम्भव छ कि भनेर अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
प्रतिक्रिया दिनुहोस