धनगढी, मंसिर १६ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी तथा लुटिएका हतियारबारे देखिएको चिन्ता आगामी चुनाव प्रभावित नबनाउने दाबी गरेका छन्।
गृह मन्त्रालयद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले पछिल्लो समय फरार कैदीबन्दी पक्राउ र बरामद हतियारको संख्या बढ्दै गएको भन्दै “यस कारण चुनाव बिथोलिन्छ भन्ने डर नलिन आग्रह” गरे।
“हामी अहिले नै ती फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउने क्रममा छौँ। लुटिएका हतियार पनि क्रमशः बरामद भइरहेका छन्,” अर्यालले भने, “यस्ता कारणले निर्वाचन बाधित हुन दिइँदैन। तीनलाई फिर्ता ल्याएरै छाड्छौँ।’’
भदौ २३ र २४ गतेको घटनापछि विभिन्न कारागारबाट भागेका कैदी तथा बालबन्दीमध्ये ४ हजार ५५२ जनालाई अझै पक्राउ गर्न बाँकी रहेको मन्त्री अर्यालको भनाइ छ।
जघन्य प्रकृतिका अपराधमा संलग्न फरारको संख्या बढी नभएको दाबी गर्दै उनले विशेष अभियानमार्फत पक्राउ कार्य भइरहेको बताए।
लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान फिर्ता आइसकेको उनले जानकारी दिए। बाँकी केही संख्याबारे भने सुरक्षा कारण औपचारिक विवरण सार्वजनिक गर्न नसकिने बताए।
कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र हातहतियारका कारण निर्वाचनको सुरक्षा वातावरणबारे शङ्का व्यक्त गरेका थिए।
त्यसप्रति प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सरकार उक्त चुनौतीको सामना गर्न सक्षम रहेको दोहो¥याए।
उनले राजनीतिक दलहरूले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दा बाधा नआओस् भन्ने विषयमा पनि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “हाम्रो जिम्मेवारी चुनाव सफलतापूर्वक सम्पन्न गर्नु हो,” उनले भने, “अहिंसात्मक राजनीतिक गतिविधि गर्न सबैलाई पूर्ण वातावरण सुनिश्चित गरिन्छ। दण्डहीनता सह्य हुने छैन।”
प्रतिक्रिया दिनुहोस