मकवानपुर, मंसिर १६ - हेटौंडा बजार क्षेत्रमा सडक चौडाइ बढाउने सरकारी योजनाविरुद्ध मंगलबार बिहानदेखि स्थानीय घरधनी र व्यवसायीहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्।
पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर सडक विस्तार गर्ने तयारी भएपछि संरचना भत्किनुका साथै आजीविका संकट हुने भन्दै आन्दोलन उग्र बनेको हो।
प्रभावित बासिन्दालाई उचित मुआब्जा, क्षतिपूर्ति तथा विकल्पबिना डोजर नचलाउन माग गर्दै प्रदर्शनकारीहरूले ‘बिना विकल्प डोजर आतंक बन्द गर’ र ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारासहित र्याली निकाले। उनीहरूको भनाइमा २५ गज चौडाइमा विस्तार भए सयौँ परिवार बसोबासविहीन हुने र संविधानले सुनिश्चित गरेको सम्पत्ति अधिकारमा ठेस पुग्ने जोखिम छ। प्रदर्शनकारीहरूले बजार क्षेत्रको सडक चौडाइ १६ मिटरमै सीमित राख्न वा वैकल्पिक रूपमा बाइपास सडक प्रयोग गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनकारीहरूले बिहान खुलेका पसलहरू समेत बलपूर्वक बन्द गराएपछि बजार क्षेत्र पूर्ण रूपमा अवरुद्ध बनेको छ। बुद्धचोक, सीमाचोकदेखि बैंक रोडसम्म घरधनी र व्यापारीहरूको ठूलो समूह नाराबाजीसहित देखिएको थियो। केही व्यवसायीले लामो समयको व्यवसाय बन्दको आह्वान गर्दै संरचना भत्किने योजनामाथि कडा असन्तुष्टि जनाएका छन्।
परिस्थितिको संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार शान्तिपूर्ण विरोध नागरिकको अधिकार भए पनि अरूको व्यवसाय जबरजस्ती बन्द गराउने कार्य कानुनी रूपमा अपराध मानिन्छ। उनले धम्की, दबाब वा बल प्रयोग गरी सटर झार्ने समूहमाथि कारबाही हुने चेतावनी दिए।
अधिकारीका अनुसार सडक विस्तारलाई लिएर व्यवसायी र घरबेटीबीच फरक धारणा देखिएको छ। प्रशासनले २० गतेसम्म समयसीमा तोके पनि केही घरधनीले व्यापारीहरूलाई अनावश्यक दबाब दिइरहेको बताइएको छ। यसबीच, व्यापारीहरू वैकल्पिक स्थान खोज्न सक्रिय देखिएको उल्लेख गर्दै अधिकारीले नारायणी मलमा २०० भन्दा बढी सटर बुक भइसकेको जानकारी दिए।
प्रशासनले थप तनाव रोक्न सादा पोसाकका प्रहरीसमेत परिचालन गर्दै बजार क्षेत्र निगरानी बढाएको छ।
प्रतिक्रिया दिनुहोस