१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उपत्यकामा ट्राफिक जाम नियन्त्रणका लागि कडाइ: अब लामो दूरीका बस अनिवार्य रूपमा बसपार्कबाटै छुट्ने



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १८९
  • काठमाडौँ, मंसिर १८ - काठमाडौँ उपत्यकामा बढ्दो यातायात जामलाई नियन्त्रणमा ल्याउन ट्राफिक प्रहरीले नयाँ कडाइ लागू गरेको छ। अब उपत्यकाभित्र चल्ने सबै रात्री तथा दिवा सेवाका लामो दूरीका सार्वजनिक बसहरू तोकिएको बसपार्कबाट मात्रै डुल्न पाउनेछन्।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा लामो दूरीका बसहरू स्थानीय सवारी साधनझैँ सडकको छेउमै जथाभावी रोकिने क्रम बढेको भन्दै यसले विशेषगरी भीडभाडका समयमा जाम थप चर्काइरहेको बताए।

    “सडकमा अव्यवस्थित रूपमा रोकिने बसहरू जामको प्रमुख कारण बनिरहेका छन्। त्यसैले अब ती सबै बसहरू बसपार्कबाटै यात्रु उठाएर चल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको हो,” उनले बताए।

    उनका अनुसार लामो दूरीका सवारी साधनलाई दिइआएको रुट परमिटसमेत पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ। ट्राफिक कार्यालयले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

    ट्राफिक कार्यालयले सडक अनुशासन कडा बनाउन विभिन्न कदम अघि सारेको छ। रातो बत्ती उल्लङ्घन, लेन क्रस, ओभरस्पिड तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था जारी छ। यी कक्षालाई अझ प्रभावकारी बनाउने तयारीसमेत सुरु गरिएको छ।

    यसबाहेक, सेवाग्राहीका लागि अनलाइन सचेतना प्रणाली पनि उपलब्ध गराइएको छ। मोबाइल एपमार्फत कक्षा लिन चाहनेले एप एक पटक ‘अनइन्स्टल’ गरी फेरि ‘इन्स्टल’ गर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ। घरमै बसेर कक्षा लिन सकिने भएकाले सेवाग्राहीलाई यसले थप सुविधा दिने अपेक्षा गरिएको छ।