काठमाडौं, मंसिर २३ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदस्थापन र निर्णय प्रक्रियामा आफूले कुनै पनि प्रकारको व्यक्तिगत प्रतिशोध नलागाएको दाबी गरेका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘सही ठाउँमा सही व्यक्ति राख्ने’ आफ्नो मूल नीति भएको बताए।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा पनि व्यक्तिगत मनोमानी वा द्वन्द्वका कारण नभई, शाक्य स्वयंले 'सकिनँ, सरुवा गरिदिनुस्' भनेपछि अघि बढाइएको निर्णय थियो। घिसिङले भने, “मैले कसैमाथि बदला लिएको होइन। संस्थाको काम रोकिन नदिन आवश्यक कदम उठाएको मात्रै हुँ।”
मन्त्री घिसिङले परिणाम नदिने, निर्णय लिन हिच्किचाउने र कार्यक्षमता नदेखाउने पदाधिकारीलाई अब जसरी पनि जवाफदेही बनाइनुपर्ने धारणा राखे। उनका अनुसार ठूलो परियोजना कहिले अघि नबढ्ने मुख्य कारण नै निर्णय नलिने प्रवृत्ति हो।
उनले थपे, “निर्णय नगर्ने र काम नगर्ने व्यक्तिलाई कारबाही अनिवार्य छ। नत्र प्रोजेक्टहरू कहिल्यै पूरा हुँदैनन्।”
घिसिङले आयोजनाहरू समयमै सम्पन्न नहुँदा देशले ठूलो आर्थिक भार बेहोर्नु पर्ने, विकासको गति सुस्त हुने र रोजगारीका अवसर स्वाभाविक रूपमा घट्ने उल्लेख गरे। उनले निर्माण व्यवसायी, परामर्शदाता र सरकारी संयन्त्रबीच बलियो समन्वय आवश्यक रहेकोमा जोड दिए।
प्रतिक्रिया दिनुहोस