१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

व्यवसायीलाई लगानी बढाउन गभर्नर पौडेलको आह्वान



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १३५
  • काठमाडौँ, पुस ३ - नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै आत्मविश्वासका साथ लगानी विस्तार गर्न आह्वान गरेका छन्।

    गोरखापत्र संस्थानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विगतमा निजी क्षेत्रले भोगेका विभिन्न चुनौती र उतार–चढावको स्मरण गराउँदै अब पनि साहसका साथ अघि बढ्नुपर्ने समय आएको बताए। उनका अनुसार कठिन परिस्थितिबाट गुज्रिएर यहाँसम्म आइपुगेको निजी क्षेत्रले आगामी दिनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ।

    गभर्नर पौडेलले देशको आर्थिक मनोबल बलियो बनाइराख्न लोकतान्त्रिक अभ्यास, विशेषगरी नियमित र निष्पक्ष निर्वाचन महत्वपूर्ण आधार भएको उल्लेख गरे। सीमित स्रोत भएका व्यक्तिहरूले समेत प्रतिस्पर्धामार्फत निर्वाचन जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनको भनाइ थियो। साथै, परम्परागत राजनीतिक दल बाहिरबाट पनि प्रतिनिधि निर्वाचित हुनु मुलुक प्रगतिशील दिशामा अघि बढिरहेको संकेत भएको उनले बताए।

    उनले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न विशेष जोड दिँदै ऊर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। यसका लागि बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न नेपाल राष्ट्र बैंक तयार रहेको गभर्नर पौडेलले बताए।

    बोण्ड जारी गर्ने विषयमा निजी क्षेत्रसँग निरन्तर छलफल र सहमति प्रयास भइरहेको जानकारी दिँदै उनले ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याए। यातायात पूर्वाधारमा पनि ठूलो सम्भावना रहेको उल्लेख गर्दै गभर्नर पौडेलले आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरण राष्ट्र बैंकले गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सकारात्मक आधार र अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्न सके निजी क्षेत्रको लगानीले अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास गभर्नर पौडेलले व्यक्त गरे।