काठमाडौं, ९ पुस - प्रधानमन्त्रीको राजीनामा माग गर्दै अभियन्ता निकोलस भुसालले राजधानीको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।
भुसालले मंगलबार राति करिब १० बजेदेखि अनसन थालेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनले उठाएका मागप्रति वर्तमान सरकारले गम्भीरता नदेखाएको विरोधस्वरूप भुसाल अनसनमा बसेका हुन् ।
जेनजी आन्दोलनसँग आबद्ध विभिन्न समूहले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । मिराज ढुंगानाको नेतृत्वमा रहेको संयुक्त जेनजी आन्दोलनले पनि सोही स्थानमा सरकारविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ ।
अनसन सुरु गर्नुअघि भुसाल पनि उक्त आन्दोलनमा सहभागी हुँदै आएका थिए । सरकार जेनजी आन्दोलनको भावना र मागअनुसार अघि नबढेको ठहर गर्दै उनले आमरण अनसनको बाटो रोजेको आन्दोलनकारीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस