काठमाडौं, पुस २७ - नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका कारण भृकुटीमण्डप परिसर चहलपहलले भरिएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि, नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमस्थल खचाखच देखिएको छ।
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन राजधानीका विभिन्न ६ स्थानबाट निकालिएका जुलुसहरू भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन्। उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च र आसपासको क्षेत्र पूर्ण रूपमा भरिएको छ।
उद्घाटन समारोह सम्पन्न भएपछि भृकुटीमण्डपमै बन्दसत्र आयोजना हुने कांग्रेसले जनाएको छ। साथै, महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि सोही स्थलमा जारी रहेको छ।
ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका हुन्। तीमध्ये पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगिसकेका छन्।
प्रतिक्रिया दिनुहोस