काठमाडौं, माघ १२ - आगामी २१ फागुनको निर्वाचनपछि बन्ने प्रतिनिधिसभामा हालका अधिकांश सांसद दोहोरिने छैनन्। अघिल्लो प्रतिनिधिसभामा रहेका करिब दुई तिहाइ सांसद नयाँ संसद्मा नदेखिने अवस्था बनेको छ।
विघटित प्रतिनिधिसभाका करिब १७० निवर्तमान सांसद यसपटक उम्मेदवार नै नबनेका छन्। प्रतिस्पर्धामा रहेका केही निवर्तमान सांसदहरू पनि एउटै निर्वाचन क्षेत्रमा आमनेसामने छन्।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ धेरै पुराना सांसद मैदानबाहिर छन् भने समानुपातिक सूचीमा पनि सीमित मात्र पुराना नाम समेटिएका छन्। यसले संसद्मा नयाँ अनुहारको प्रवेश निश्चित जस्तै देखाएको छ।
नेपाली कांग्रेस, एमाले र रास्वपाका थुप्रै प्रभावशाली नेताहरू चुनाव नलड्ने सूचीमा परेका छन्। केही निर्वाचन क्षेत्रमा भने पुराना सांसदहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशका धेरै निर्वाचन क्षेत्रमा दलहरूले नयाँ उम्मेदवार अघि सारेका छन्। यस कारण नयाँ प्रतिनिधिसभामा क्षेत्रीय प्रतिनिधित्वमा पनि उल्लेख्य परिवर्तन देखिनेछ।
संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले नयाँ सांसदको उपस्थितिले संसद्लाई थप सक्रिय बनाउन सक्ने बताउँदै दलहरूको नेतृत्वले अनुशासन र जवाफदेहितामा ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस