काठमाडौं, माघ १२ - नेपाली बजारमा पछिल्लो सातादेखि खानेतेलको मूल्यमा ठूलो वृद्धि भएको छ। भटमास, सनफ्लावर र तोरी तेल प्रतिलिटर ४०–५० रुपैयाँसम्म महँगो भएको उपभोक्ताले जनाएका छन्। यसले घरायसी खर्चमा थप भार परेको छ।
हाल बजारमा सनफ्लावर र भटमास तेल प्रतिलिटर २ सय ९०–३ सय रुपैयाँसम्म पुगेको छ भने तोरीको तेल ३ सय ८०–४ सय रुपैयाँमा बिक्री भइरहेको छ। काठमाडौंका उपभोक्ताले एक साताअघि २ सय ४५ रुपैयाँमा पाइने तेल अहिले ५० रुपैयाँसम्म महँगो भएको अनुभव सुनाएका छन्।
उद्योगी र व्यवसायीहरूले मूल्यवृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको भाउ बढ्नु, डलरको मूल्य उक्लिनु र भारतमा बढेको माग रहेको दाबी गरेका छन्। उनका अनुसार नेपालबाट ठूलो परिमाणमा तेल निर्यात हुँदा स्वदेशी बजारमा आपूर्ति घटेको छ।
तर उपभोक्ता अधिकारकर्मीहरूले यो कृत्रिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गरिएको आरोप लगाएका छन्। उनीहरूले चुनावी समयमा उद्योगीहरूले फाइदा उठाउने प्रयास गरेको र सरकारको कमजोर अनुगमनका कारण यो सम्भव भएको बताएका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीहरूसँग छलफल गरी मूल्यवृद्धिको कारण बुझ्ने तयारी गरिरहेको जनाएको छ। उपभोक्ताले तत्काल प्रभावकारी अनुगमन र मूल्य नियन्त्रणको माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस