काठमाडौं, माघ १५ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान उपकरण खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपतिदेखि कर्मचारीसम्म भ्रष्टाचार मुद्दामा तानिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीसहित २० जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिटी स्क्यान खरिदका क्रममा ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि भएको छ। सोही रकमलाई बिगो कायम गर्दै सम्बन्धित व्यक्ति तथा एक कम्पनीविरुद्ध मुद्दा दायर गरिएको उनले जानकारी दिए।
मुद्दा दायर गरिएकामध्ये डा. भण्डारीसँगै तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट इन्जिनियर अमितकुमार चौधरी तथा लेक्चरर डा. श्रीसिया पोखरेल रहेका छन्।
त्यसैगरी तत्कालीन शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर र कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह पनि मुद्दामा प्रतिवादी बनाइएका छन्।
उपकरण आपूर्तिसँग जोडिएको हिमालयन मेडिटेक प्रालि तथा कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। आयोगले सबै प्रतिवादीबाट जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ बिगो असुल उपर गर्न माग दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस