१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनको हिंसामा रवि–बालेन जिम्मेवार: महेश बस्नेत



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या २२६
  • काठमाडौँ, माघ १६ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर घुमन्ते उम्मेदवार चलाउने प्रचलन सुरु गरेको आरोप लगाएका छन्।

    शुक्रबार एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै बस्नेतले घुमन्ते उम्मेदवारहरूको चलन रोक्न सरकार र निर्वाचन आयोगलाई सचेत रहन आग्रह गरे।

    उनले भने, “केपी ओलीलाई सदनमा आउन नदिने रणनीतिअन्तर्गत काठमाडौँका मेयर बालेन शाह झापा क्षेत्रमा चुनाव लड्न लागेका छन्। चुनाव आफै जन्मेको र हुर्केको ठाउँमा लड्ने चलन हुनुपर्छ। तर रास्वपा अहिले घुमन्ते उम्मेदवारलाई देशभर पठाउँदै आएको छ।”

    बस्नेतले यसअघिका जेनजी आन्दोलनका घटनामा पनि रवि लामिछाने र बालेन शाहलाई जिम्मेवार ठहराउनुपर्ने दाबी गरे। उनले भने, “जेलबाट भागेका कैदीहरू मध्ये १२ जनाको मृत्यु भएको घटनामा रवि लामिछाने र बालेन शाहको भूमिका रह्यो। यसप्रकारको हिंसात्मक गतिविधिको हिसाब युवाहरूले बुझ्नुपर्छ। उनीहरूले हत्या र हिंसाको बाटो रोज्ने कि विकास र समृद्धिको बाटो रोज्ने भन्ने निर्णय गर्नुपर्नेछ।”

    एमाले सचिवले यसपटकको निर्वाचनमा ‘घुमन्ते उम्मेदवार बाइबाइ, र रैथाने उम्मेदवार हाई हाई’ भन्ने नारा कार्यकर्ताले जोडेर लगाउनुपर्ने पनि बताए। उनले विकास र समृद्धि देखाएर मतदातालाई एमालेतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए।

    बस्नेतको यो अभिव्यक्तिले आगामी निर्वाचनमा उम्मेदवारहरूको रणनीति र स्थानीय तहका चुनावी खेललाई अझै चर्चाको केन्द्रमा ल्याउने अनुमान गरिएको छ।