काठमाडौं, माघ १८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
ग्रान्डी अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो। चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका सिटौलाको ४५ वर्षको उमेरमै असामयिक निधन भएको हो।
बालेनको प्रचार अभियानका क्रममा अछाम पुगेका बेला उनी अचानक बेहोस भई ढलेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको हो।
स्वर्गीय सिटौलाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनकाे पार्थिव शरीर चलचित्र विकास बोर्डमा आज दिउँसो २ः३० देखि ३ः०० बजेसम्म राखिने जनाइएको छ। उनी ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालकसमेत थिए।
प्रतिक्रिया दिनुहोस