१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेनको विवादास्पद अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति, आत्मालोचना गर्न माग



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १३५
  • काठमाडौँ, फागुन ११ - नेपाल निर्माण व्यवसायी महासंघ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले निर्माण व्यवसायीहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएको छ। महासंघले उक्त टिप्पणीले देशभरका व्यवसायीहरूको प्रतिष्ठामाथि आघात पुर्‍याएको दाबी गरेको छ।

    सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघले शाहको अभिव्यक्ति अमर्यादित र उत्तेजक भएको ठहर गर्दै तत्काल सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको हो। फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा शाहले निर्माण कार्यमा भइरहेको ढिलाइबारे टिप्पणी गर्ने क्रममा व्यवसायीलाई कठोर शैलीमा प्रस्तुत गरेका थिए।

    महासंघका पदाधिकारीहरूले विकास निर्माणमा ढिलाइ हुनुको कारण केवल निर्माण व्यवसायी मात्र नभई सरकारको नीतिगत कमजोरी र अव्यवहारिक ऐन–कानुन रहेको बताएका छन्। उनीहरूका अनुसार विभिन्न प्रशासनिक झन्झट, बजेट अभाव र नीतिगत अस्पष्टताका कारण देशभर हजारौँ आयोजना प्रभावित भएका छन्।

    महासंघले हाल करिब ३० हजार आयोजना अलपत्र अवस्थामा रहेको दाबी गर्दै राज्यसँग साढे ६ खर्ब रुपैयाँभन्दा बढीका योजना पुगे पनि तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत–साधन सुनिश्चित नभएको उल्लेख गरेको छ। यस्तो अवस्थामा सम्पूर्ण दोष व्यवसायीमाथि थोपर्नु न्यायोचित नभएको उनीहरूको भनाइ छ।

    साथै महासंघले निर्वाचनको पूर्वसन्ध्यामा प्रयोग गरिएको धम्कीपूर्ण भाषा निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने भन्दै यस विषयमा आवश्यक कदम चाल्न निर्वाचन आयोग को ध्यानाकर्षण गराएको छ।