काठमाडौं, फागुन २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो। सो रिटमाथि न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि दायर भएको अभियोगमा संशोधन गर्न निर्देशन दिएकी थिइन्। उक्त निर्देशनअनुसार सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई भनिएको थियो।
यस निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल तथा युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको निर्देशनपछि कास्की र रुपन्देही जिल्ला अदालतमा मुद्दा संशोधनका लागि निवेदन पेश भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यहाँ सुनुवाइ अघि बढ्न सकेको छैन। यता काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले भने अभियोग पत्र संशोधनका लागि हालसम्म जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
प्रतिक्रिया दिनुहोस