काठमाडौं, चैत १५ - जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। सार्वजनिक बिदाका कारण शनिबार अदालतमा पेश गर्न नसकिएकाले उनलाई आज उपस्थित गराइएको हो।
यसैबीच, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालतमा पेश गर्ने तयारी गरिएको छ। पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई प्रहरीको महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने दुई हजार चार सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको थियो।
उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित उच्च पदस्थ अधिकारीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।
नवगठित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले चैत १४ गते बिहानै दुवै नेतालाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस