धनगढी, वैशाख ८ - कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहमा भएको विवादले उग्र रूप लिँदा एक युवकको ज्यान गएको छ ।
प्रहरीका अनुसार १८ वर्षीय उज्वल सायरमाथि धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटना सोमबार राति करिब साढे १ बजेतिर विवाह कार्यक्रममा सहभागी हुँदा भएको बताइएको छ ।
घाइते सायरलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार मृतकको छातीमा गम्भीर चोट लागेको थियो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको पहिचान अनुसन्धानका कारण सार्वजनिक गरिएको छैन भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस